कथा: दुई घुम्तिहरु
- किरात याक्थुङ चुम्लुङ, अमेरिका
- Jul 7, 2023
- 5 min read
Updated: Jan 24, 2024

म ट्रेनको सफरमा थिएँ । सधै झै बिहानै हतार-हता
र काममा हुईकिदै थिएँ । ट्रेनमा आज अलि भिड बढेको थियो । बस्नलाई सिट खाली थिएन । म डण्डी समाएर उभिरहेकी थिएँ ।
एक्कासी कसैले मेरो कुममा धाप माऱ्
यो । फलामको जस्तो कडा हात थियो । झसंग भएँ, फनक्क पछाडि फर्केर हेरें ।
अवाक म ! कहि कतै देखे जस्तो, चिने जस्तो एउटा अर्धबैशें मान्छे मुस्कुराइरहेको थियो । त्यतिबेला सम्म उनले मेरो कुमबाट हात हटाई सकेको थियो ।
“तिमी !” अनायसै मेरो ओठबाट एउटा सम्बोधन फुस्कियो । “बिर्सिएकी छैनौ मलाई ?” उनको आवाज पुरापुर प्रेमले भरिएको थियो । धेरै वर्ष पछि अप्रत्याशित रुपमा अरुणलाई देखेर म आश्चर्य चकित मात्र भईन, त्यो क्षण अपत्यारिलो पनि लाग्यो ।
केही बोल्न सकिन । हेरिरहे निमेषभर उसको मायालु आँखालाई । लाग्यो त्यो उसको आँखा होईन, नील सागर हो । उसलाई छलेर कयौं पटक डुबुल्की मारे त्यो कंचन नील सागरमा ।
मेरो डुबुल्कीलाई छेक्दै उनले भन्यो - “न्यूयोर्क घुम्न आएको ।”
“अनि एक्लै ? यति सबेरै ?
“अँ एक्लै । घुम्न आएको मान्छे
किन बसिरहनु भनेर नि । समयको भरपूर सदुपयोग गरुँ भनेर”
“ए !”
“एउटा कुरा भनुँ ?”
“अँ भन न”
तिमीले छोडेर अमेरिका हिडेपछि सॉच्चै म एक्लिए । तिमीसंग घरजम गरेर बस्ने सपना विपना हुन सकेन ।” उ भन्दै गयो - “तिमीले सात समून्द्र पार गरेपछि सॉच्चै मलाई मात्र होइन , आफ्नो देश नेपाल नै भूल्यौ नि ?”
म चुपचाप भएँ । बोल्न म संग थुप्रै कुराहरु थिएँ तर खै किन हो केही भन्न सकिन । प्रत्युत्तरमा थोरै मुस्कुराएँ मात्र । मेरो आँखा भिज्दै गैरहेको थियो अनायसै ।
टिलपिल आँसु बोकेर नै मैले म
नमनै सोचें- साच्चै बिदेशी भूमिमा आएर मैले हॉस्नै बिर्सिएको हो त ? दिनहुँको परिश्रमले मेरो हॉसो खोसिदिएकै हो त ? डलरको पछि लागेर मैले सबैलाई बिर्सेकै हो त ? यस्तै कुराहरुको ऑधी चलिरहेथ्यो मनमा । उसको आवाजले झस्किएँ फेरी । उ भन्दै थियो- “तिमीमा धेरै परिवर्तन आएछ । प्रमुख परिवर्तन भनेको तिम्रो पहिरन र दोस्रो फरासिलो पन । सॉच्चै तिमी संसारकै ठूलो र सुन्दर शहरमा बसेर पनि अलि खुम्चिए जस्तो पो लाग्यो पहिले भन्दा।” उ अझै भन्दै थियो- “त्यो बेला पनि तिमी त हिप्पी जस्ती थियौ नि ? कसैको पर्वाह नगरी बिन्दास जीवन बिताउथ्यौ ।”
म चुपचाप सुनिरहेकी थिएँ उनको कुरा । उ म भित्रै पसेर भन्दै गैरहेको थियो - “म तिम्रो फरासिलो पन र सहयोगी भावना बुझेरै त मख्ख परेको थिएँ ती दिनहरुमा । तिमी हॉस्दा ती चिम्से ऑखाहरु झन् साना हुन्थे । तिम्रो हॉसोले वातावरण नै कति मोहक ब
नाइदिन्थ्यो । हामी साथीहरु यही सोच्थ्यौ की तिमी खुशी नै खुशीको अणुले भरिएकी छौ । अरु साथीहरु तिम्रो बारेमा चाख मानेर सोध्थे । कति मधुर थिए ती पलहरु……. कतिबेला बिहान हुन्छ र कलेज जाउँ जस्तो हुन्थ्यो । तिमीलाई याद छ ? एकपटक म बिहान तीन बजे नै कलेज पुगेको ? शुनसान कलेजमा एक्लै छ बजेसम्म बसेको ?
उसको कुराले अतित झन् बल्झियो । म मुस्कुराएँ किनकी कुनै पनि स्थानमा म छिटो पुगे भने त्यो कुरा सम्झेर उ मेरो यादमा आउथ्यो ।
उ भन्दै थियो “तिमीले हातमा लगाएका रबरका खाल-खालका चुराहरु देख्दा अचम्म लाग्थ्यो । गाउँबाट भर्खर कलेज पढ्न आएका केटा केटीहरु खुब तिमीलाई हेर्थे तर तिमी बेपरवाह निस्फिक्री बॉचिदिन्थ्यौ जस्तो कि अस्कल क्याम्पस तिम्रो घर हो र ती
हेर्नेहरु तिम्रा सुसारेहरु हुन् । बिलासी जीवन बिताएर पनि कति राम्रो पढ्थ्यौ नि तिमी ? सॉच्चै तिम्रो साथीहरु थिए नि मिनु, आयशा, जिलेन र अमृत । कहॉ छन् ?”
“मिनुसंग कहिलेकाहि कुरा हुन्छ म्यासेन्जरमा । आयशा र जिलेनले बिवाह गरे भन्ने सुने ।अमृत चाहि अष्ट्रेलियामा ‘साइन्टिस्ट’ भएको छ अरे !”
मेरो कुरा सुनेर खुसी प्रकट गऱ्यो उसले। हॉस्दै सोध्यो - “उनीहरु त कुकुर र बिराला जस्तै थिए त ! कुट्न मात्रै बॉकी राख्दैन थिए एक अर्कालाई, तिमी बीचमा नभएको भए कस्तो हुन्थ्यो होला माहोल म कल्पना पनि गर्न सक्दिन थिएँ । आखिरमा बिहे भएछ उनारुको । राम्रै त भयो ।”
ट्रेन आफ्नै रफ्तारमा कुदिरहेको थियो । एकै छिन मौन भयौ हामी । मलाई पनि बर्षौ पछि उसंग भेटेकोले अतितका थुप्रै थुप्रै रमाइला कुराहरु गर्न मन थियो ।
देखे उसको ऑखाको डिलमा अलि अलि चाउरी पर्न थालेछ । निधारमा केही धर्साहरु र हॉस्दा गालाका थोरै चाउरीपन पनि याद गरे ।
“तिमीमा त कति धेरै परिवर्तन आएछ !” निमेषभरको मौनता भंग गर्दै सोधे मैले ।
मुसुक्क हास्यो उ, र बोल्यो - “चालिस कटि गो……बुढो भइयो नि अब, सधै एकनास कहॉ हुन्छ र ?”
समय संगसंगै लवाई, खुवाई, रंग र सोंचाइ सबै परिवर्तन पो हुँदोरहेछ... खिसिक्क हॉस्यो उ ।
“तिमी त धेरै नबोल्ने मान्छे, धेरै नै बोल्ने भएछौ । पहिला म बोल्थे, तिमी सुन्थ्यौ अहिले तिमी बोल म सुन्छु ।”
उ चुप थियो, फेरी थपें- अहिले पनि के बिग्र्या छ र ? बिहे गरेर घरजम गर्नु नी । यतातिर त यही उमेरमा त घरबार शुरु गर्छन् मान्छेहरु ।
“भो अब त……… एक्लै बॉच्ने बानी भैसक्यो ।”
मलाई उसको बारेमा अरु थुप्रै कुराहरु जान्ने हुटहुटी थियो मनमा । आफ्नो झर्नुपर्ने स्टेशन नजिकिदै थियो ।
सधै काममा पुग्न हतार म, आजभने यो ट्रेन आफ्नो गन्तव्यमा बिस्तारै पुगे पनि हुन्थ्यो नि भन्ने सोच्दै थिएँ मनमा, नभन्दै ट्रेन १० मिनेट ढिला भयो ।
उसको आँखामा प्रेम झल्किएको थियो । एकक्षणको लागि लाग्यो म फेरी अरुणसंग गफिदैंछु कलेजको क्यान्टीनमा बसेर ।
उसले कफि खान जान आग्रह गर्यो तर मैले काममा उसैपनि ढिलो भएकोले जान अस्वीकार गरे । मेरो कुराले उ खिन्न भयो होला सायद !
उसले हास्दै भन्यो- “साच्चै तिमीले मेरो फ़्रेण्ड रिक्वेस्ट किन नस्वीकारेको फ़ेसबुकमा ?”
मैले हॉसेरै टारिदिएँ ।
“हुन त नजाने गाउँको बाटो किन सोध्नु भनेर होला नी”
“त्यस्तो पनि होइन...”
“भेट हुदा संजुले मलाई बेला-बेला तिम्रो फोटोहरु देखाउने गर्छे। तिमीले सारी लगाएको फोटो देख्दा हामी दुवै छक्क परेका थियौ । रातो सारी, हरियो चोली, मगंलसुत्र र रातो सिन्दुरले कत्ति सुहाएको तिमीलाई…. तर थाह छ ? मुस्कान चाहि अलि पुगेको
थिएन त्यो तस्वीरमा । हॉस्न पनि कन्जूस्यॉइ गर्न थालेछौ नि ? सन्जु र म तिम्रो पहिलाको पहिरन र फोटोको पहिरनको तुलना गर्दै खुब हास्यौ...”
मैले बीचमै उसको कुरा काटेर सोधे- “साच्ची संन्जु तिम्रो मामाको छोरी हैन ?”
उसले फेरी हास्दै भन्यो- “तिमी जहिल्यै कन्फ्यूज के …. फूपुको छोरी नि !”
मैले लामो जिब्रो निकाल्दै आँखा झिम्क्याएँ । सायद मेरो माफी माग्ने तरिका उसले बुझ्यो होला । अपनत्व जगाउदै भन्यो- “हैट् लाटी !”
क्षणभरको मौनतापछि मैले सोधे - “कहॉ झर्ने हो तिमी ?”
“म त फिरन्ते न हुँ, तिमी जहॉ झर्छौ मेरो गन्तव्य पनि त्यही हुनेछ ।”
म अचम्म परे, कसरी यस्तो हुन सक्छ ? हामी त संयोगले बाटोमा भेटिएका हौ ।
“साच्चै ?”
“डर लाग्यो यहॉ पनि पछ्याउन
लाग्यो भनेर ? हा हा हा !!!
होइन होइन, टाइम्स स्क्वायर घुम्न हिडेको ।”
यत्तिकैमा मेरो ओर्लने स्टेशन आइपुग्नै लागेको उसलाई जानकारी दिएँ । ट्रेन रोकिन गति बिस्तारै कम हुदैथ्यो, हतार हतार उसले मेरो मोबाइल नम्बर माग्यो । सम्झें- कहि मोबाइल नम्बर दिनाले मेरो जिन्दगीको गन्तव्य बदलियो भने ? उसलाई मोबाइल नम्बर दिन किन हो निको लागेन र दिइन पनि । ट्रेन रोकियो ।
मैले भने “म गएँ ल !”
भाग्यमा फेरी भेटिने लेखिएको छ भने फेरी भेट होला यसरी नै ।अरुणको अनुहारमा अँध्यारो छायो तर कुनै प्रतिक्रिया नजनाई म बाहिरिएँ । ट्रेनको ढोका बन्द भयो ।
मैले चाहेर पनि पछाडि फर्केर हेरिन । आँखाभरि आफूलाई माया गर्ने, बेलुकी घर फर्किदा सधै मलाई पर्खिरहने श्रीमान र छोरी सम्झे । आँखा रसायो ।त्यो भिडबाट पन्छिन हतार-हतार भऱ्याङका खुडकिलाहरु तिर पाइला लम्काएँ ।
बाटोमा उनलाई सम्झिदै गएँ... पहिला भन्दा अलि मोटाएछौ अरुण तर अनुहारको हिस्सी भने उस्तै रहेछ तिम्रो, माया लाग्दो । सॉच्चै तिमी आजसम्म
मेरै कारणले एक्लो छौ भने मलाई माफ गरिदेउ । धोका थिएन त्यो, सायद हामी एक अर्काको लागि बनेका थिएनौ र, म यतिखेर जीवनको एउटा घुम्ति काटेर निकै पर पुगिसकेकी छु । तिमी तिम्रो खुसीमा रमाउनु.….
काममा पुग्नै लागेको थिएँ, फोन बज्यो- “ह्याप्पी एनिभर्सरी बुढी ! आज सकेसम्म छिट्टै आउनु ल ! आज हाम्रो स्पेशल डिनरको लागि म्यानह्याट्टनको नयाँ रुफटप रेस्टुरेन्टमा छोरी र म पर्खिरहनेछौ”
त्यसैबेला छोरीले पनि ठुलो स्वर पारेर भन्दै थिई - “ह्याप्पी एनिभर्सरी मम्मी ।”
***** समाप्त *****
नदिया
न्यूयोर्क
Comments